काठमाडौं १९ भदौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको छ ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक लाइसेन्स लिन सेवाग्राहीले वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको हो ।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकले क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । उनले अहिले काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमश: मुलुकका सबै यातायात कार्यालयहरुमार्फत वितरण गरिने समेत बताए ।
अहिले ७ लाख सेवाग्राही स्मार्ट लाइसेन्स लिने पर्खाइमा छन् । उनीहरु महिनौंदेखि लाइनमा बस्न बाध्य छन् । भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम पनि शुरु हुने बताए । उनले भने , ‘आगामी केही महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने छ ।’
कोरोना महामारीका कारण स्थगित सवारी चालक अनुमति पत्र लाइसेन्स को लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा आउँदो भदौ २० गतेबाट सञ्चालन हुने जानकारी दिइएको छ ।
सवारी चालक अनुमति पत्र लाइसेन्स को लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षाका लागि छ लाखको आवेदन परेको छ । विभागले लाइसेन्स आवेदन अनलाईनबाटै लिने गरेको छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-