काठमाडौं । आजकै दिन अर्थात् २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र १ नाबालकको ‘नरसंहार’ गरिएको थियो ।
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन चर्किरहेको अवस्थामा उक्त घटना घट्न पुगेको थियो । घट्ना घटेको आज ६ वर्ष पूरा भएको छ ।
घटना घटेको करिब साढे ३ वर्षपछि कैलाली जिल्ला अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतले रेशम चौधरी, हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई जन्म कैद फैसला सुनाएको थियो । तर, श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय घटाएको थियो ।
टीकापुरमा घटनाका अन्य १२ दोषीलाई भने ३ वर्षको सजाय सुनाएको थियो । साथै, हालसम्म उक्त घटनाका आरोपित ३१ जना फरार रहेका छन् ।
टिकापुर घटनाका मुख्य योजनाकार तथा अभियुक्तका रुपमा रहेका रेशम चौधरी निलम्बित प्रतिनिसभा सदस्य पनि हुन् । उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद् हुन् ।
टीकापुर घटनापछि फरार भएका चौधरी ०७४ को निर्वाचनमा वारेसनामामाफर्त कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। निर्वाचनमा भारी मतले विजयी हासिल गरे । तर, उनीविरुद्ध टीकापुर घटनासम्बन्धि परेको मुद्दा विचाराधिन रहेकाले उनले सपथ लिन पाएनन् ।
करिब एक वर्षपछि जेलमै रहेको अवस्थामा उनले संसद् भवनमा गएर सांसदको सपथ ग्रहण गरे । मुख्य अभियुक्त भनेर थुनामै रहेका बेला चौधरीलाई राजनीतिक स्वार्थका कारण सांसद पदको सपथ खुवाइएको थियो ।
आज टीकापुर घटना घटेको ६ वर्ष पुगेको अवसरमा चोधरीको विना सर्त रिहाई गर्नुपर्ने माग राख्दै आएका समर्थकले सोमबार टीकापुरको लम्कीमा शान्तिपूर्ण प्रदर्शन र भोलि मंगलबार ‘कालो दिन’का रुपमा मनाउने कार्यक्रम तय गरिएको छ ।
थरुहट/थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले चौधरीको रिहाई नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले टीकापुर घटना राजनीतिक घटना भएकाले विनासर्त चोधरीको रिहाई हुनुपर्ने माग राखे ।


























प्रतिक्रिया लेख्नुहोस्:-