म्याग्दी २६ साउन । म्याग्दीको बेनी नगरपालिका–८ न्यूरोडमा सोमबार राती २:३० बजे आगोलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
न्युरोड स्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन/नतिजा स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो । २:३० बजे सुरु भएको आगोलागी ४:३० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आगोलागी नियन्त्रणमा लिन बेनी र बागलुङ नगरपालिकाको दुई वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बजारबासी परिचालन भएका थिए । प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले आगोलागीबाट दुई वटा पसल, त्यहाँ राखिएको सामान र चार वटा कोठा पूर्ण रुपमा क्षति भएको जानकारी दिए ।
उनका अनुसार ग्यासको सिलिण्डर पनि भएको किराना र डेरी पसलमा बिद्युत सर्ट भएर आगोलागी भएको हो । प्रहरीका अनुसार पसल सञ्चालकहरुले अन्दाजी ८० देखि ९० लाख बराबरको क्षति भएको बताएका छन् ।
आगोलागीको कारणको अनुसन्धान र क्षतिको पूर्ण बिबरण आउन भने बाँकी रहेको छ । आगोलागी भएको पसल सञ्चालन भएको घर जस्ताले छाएको टहरामा ब्लकले बारेको र भुई ढलान गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-