काठमाडौँ २१ साउन । जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौँ आइपुग्दैछ ।

जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्नेछ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौँ आइपुग्ने भएको हो ।
नेपालस्थित जापानी राजदूत किकुता यूताकाका अनुसार १६ लाखमध्ये आधा खोप बिहीबार र शुक्रबार काठमाडौँका लागि जापानबाट बठाइने तालिका तय गरिएको छ।
बाँकी खोप भने उपयुक्त समयमा काठमाडौँ ल्याइने जापानी राजदूत किकुताले बताएका छन् । जापानी दूतावासले पनि यसबारे बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
कोभिड १९ को महामारीका समयमा जापानी दूतावासले बढीभन्दा बढी जीवन जोगाउन नेपाल सरकारसँग मिलेर काम गरिरहेको पनि जनाएको छ। जापानी राजदूत किकुताले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटको क्रममा पनि जापान सरकारको सहयोगबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-