पोखरा ११ साउन । साउन ३ गते इलाममा जंगली च्याउको तरकारी खाँदा बाबुछोराको ज्यान यो । फाकफोकथुम गाउँपालिका १ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यो घटना उद्दहारण मात्र हो । हरेक वर्ष यो मौसममा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानाले ज्यान जाने गरेको तथ्याँक छ । यो अस्पताल गएकाहरुको मात्रै तथ्याँक हो । अस्पताल नगइकन वा थाहा नपाइकन पनि कतिपयको विषालु च्याउको कारण ज्यान जाने गरेको छ ।

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा धेरै प्रजातिका च्याउ पाइन्छन् । पुरानो रूखको ठुटो, पत्कर वा खुला चौर र पाखामा च्याउ उम्रिन्छ ।
यस्ता च्याउ खानयोग्य पनि हुन्छन्, विषालु पनि । जथाभावी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ । कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।
कस्ता च्याउ खान हुुँदैन ?
जंगली च्याउ भौगोलिक अवस्था अनुसार फरक फरक हुन्छन् । त्यसैले सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगस् च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ ।
कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउने च्याउ वैज्ञानिक प्रेमबहादुर मगर बताउनुहुन्छ । च्याउ संकलन तथा प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाई छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्राय: विषालु हुन्छन् ।
च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा विषालु हो भनेर अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो, गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा विचार पुर्याउन च्याउ विज्ञ मगरको सुझाव छ ।
विषालु च्याउको वरपर कीराहरु नलाग्ने हुन्छ । त्यसैले यी च्याउहरु हेर्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् । खान हुने वा नहुने च्याउ छुट्याउनु यी तरिकाहरु अपनाउन सकिने उहाँको भनाई छ । तर यसैको आधारमा च्याउ विषालु हो या होइन छुट्याउन गाह्रो हुने उहाँ बताउनुहुन्छ । ठाउँ र हावापानी अनुसार च्याउको प्रजातिमा फरक पर्ने हुँदा कुन च्याउ खान हुने र नहुने ठ्याक्कै छुट्याउन भने विशेषज्ञता नै चाहिने विज्ञहरुको भनाइ छ ।
नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइन्छ । तीमध्ये ७४ प्रकारका च्याउमा औषधीय गुण हुन्छ । १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने १ सय प्रजातिका च्याउ विषालु हुने मगरले बताउनुभयो ।
च्याउको विषबाट बच्न के गर्ने ?
सकभर आफूले चिनेको र जानेको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्री वितरण गर्ने र खाने ।
संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने ।
सकभर दुई प्रजातिका फरक– फरक च्याउ सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनुभन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।
उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नष्ट हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुनपानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै विधि अपनाउने ।
परम्परागत रुपमा प्रयोग गरिंदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ । छिटो भन्दा छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ ।
सबैलाई च्याउका सबै प्रकारहरुको ज्ञान नहुने हुँदा सकेसम्म राम्ररी ज्ञान नभएको प्रजातिको च्याउ प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । यसका साथै च्याउ संकलन र प्रयोग गर्दा समेत विशेष सावधानी अपनाउनुपर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-