बाग्लुङ ७ साउन । विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ ।

गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।
प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो ।
प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-