एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन्। उनलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो। लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लील चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो। राजलाई मुख्य आरोपी मान्दै पक्राउ गरिएको प्रहरीले जनाइएको छ।

यही वर्षको फेब्रुअरीमा अश्लील चलचित्र बनाउने र त्यसलाई एपमार्फत सार्वजनिक गरेको विषयमा प्रहरीमा उजुरी परेको थियो। यस विषयमा छानविन गर्दा राज कुन्द्रा मुख्य दोषी पाइएको मुम्बई प्रहरीले जनाएको छ। मुम्बई प्रहरीका अनुसार राजका विरुद्ध प्रहरीसँग पर्याप्त सबुत रहेको जनाइएको छ। उनलाई अदालतले शुक्रबारसम्म थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ।
क्राइम ब्रान्चले अश्लील चलचित्र बनाउने र त्यसलाई अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको विषयमा छानविन सुरु गरेको थियो। त्यस क्रममा विभिन्न स्थानमा छापा मार्नुका साथै संदिघ्नहरूको खोजी पनि सुरु गरेको थियो। यो मामिलामा राज कुन्द्रा अघि चार आरोपितलाई पक्राउ गरेको थियो। उनीहरूको बयानका आधारमा प्रहरीले राजमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा उनी मुख्य आरोपी भेटिएका थिए।
प्रहरीका अनुसार अश्लील चलचित्र रिलिज गर्नका लागि छुट्टै एपको निर्माण गरेर त्यसमार्फत विभिन्न चलचित्र रिलिज गर्ने गरेको पाइएको छ। एपमार्फत रिलिज भएपछि सर्वसाधारणसँग पैसा लिने गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-