काठमाडौं ५ साउन। नेपालमा भित्रिएका कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने स्वास्थ्य मन्त्रालयसँग तथ्यांक छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्याकं नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार हालसम्म कोभिसिल्ड पहिलो डोज ८९ लाख २८ हजार ४८४ जनाले लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ जनाले लगाएका छ ।
पहिलो र दुवै डोज लगाएको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ । भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो ।
भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो । नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्याकं मन्त्रालयसँग छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-