काठमाडौं ५ साउन । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सोमबार ललितपुरको च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए । उनले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमतविपरीतको काम भएको भन्दै पार्टीका २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । उनले २२ जना सांसदले दिएको जवाफको आधारमा पार्टीले चाल्ने थप कदम तय हुने बताए । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए ।
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हीरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् । । त्यसै गरी, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-