एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली युनियन फुटबल एसोसिएसन युइएफएले इङ्ल्यान्ड फुटबल संघमाथि ३० हजार युरो जरिवाना तोकेको छ ।

युरो कप अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा भएको डेनमार्क विरुद्धको खेलमा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि इङ्ल्यान्डलाई जरिवाना लगाइएको हो ।
खेलको दौरान डेनिस गोलरक्षक कास्पर स्माइकललाई लक्षित गर्दै दर्शकदीर्घाबाट लेजर लाइट प्रयोग गरिएको थियो ।
अतिरिक्त समयमा धकेलिएको खेलको १०४ औँ मिनेटमा इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो र त्यसलाई प्रहार गर्न कप्तान ह्यारी केन आए ।
केनले पेनाल्टी प्रहार गर्नुभन्दा अगाडि कास्परको अनुहारमा पर्ने गरी लेजर लाइट प्रयोग गरिएको थियो ।
केनको प्रहारलाई गोलरक्षक कास्परले रोके पनि रिबाउन्ड बललाई भने उनले गोलमा परिणत गरे ।
केनको यही गोलमार्फत् डेनमार्कमाथि २-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक युरो कपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।
युइएफएको अनुशासन कमिटीले खेल चलिरहँदा मैदानमा अर्को बल आएको, खेलको सुरुवातमा राष्ट्रिय गानको दौरान दर्शकले होहल्ला गर्दै अशान्ति फैलाएको र अतिशबाजी गरेको विषयमा समेत छानबिन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-