काठमाडौं २२ असार । महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वको राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी सपा एकीकरण भएर बनेको जनता समाजवादी पार्टी मंगलबारबाट विभाजित भएको छ।

समाजवादी पार्टी सपा र राष्ट्रिय जनता पार्टी राजपा मिलेर गठन भएको जनता समाजवादी पार्टी जसपा साढे चौध महीनापछि विभाजित भएको छ। मंगलबार निर्वाचन आयोगमा पुगेर दुवै पक्षले हस्ताक्षर गरेपछि औपचारिक रूपमै जसपा टुक्रिएको हो।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, केशव झा, सुरेन्द्र झा र राजेन्द्र श्रेष्ठले आयोगलाई पार्टी विभाजनको प्रक्रिया अगाडि बढाउन लिखित सहमति दिएर आएका छन्। “आयोगलाई हाम्रो पार्टी अलग–अलग गरिदिनुस् भनेर आएका छौं,” ठाकुर पक्षका नेता अनिल झाले भने, “जसपा फुट्यो भन्दा हुन्छ।”
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अब आयोगले इजलाश गठन गर्ने र को आधिकारिक हो भन्ने निर्क्योल गर्ने बताउँछन्। “आयोगले प्रचलित कानून अनुसार, तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ,” उनी भन्छन्।
प्रतिक्रिया लेख्नुहोस्:-