काठमाडौं २० असार । तातोपानी नाका हुँदै चीन जान लागेका एक तिब्बती शरणार्थीलाई नेपालले पक्राउ गरी भारत पठाएको छ । लुकिछिपी चीन प्रवेश गर्न खोज्ने क्रममा लोप्साङ टासीलाई प्रहरीले पक्राउ गरेको हो ।

१५ असारमा उनी पक्राउ परेकोमा १७ गते भारत पठाइएको छ । उनी विनापासपोर्ट र भिसा नेपाल प्रवेश गरेको भए पनि अनुसन्धान नै नगरी तिब्बती शरणार्थीका प्रतिनिधिको जिम्मा लगाई छाडिएको हो । प्रहरीले कारबाहीका लागि अध्यागमन विभागमा पठाएकोमा विभागले उनलाई भारत पठाउने सर्तमा जिम्मा लगाएको हो । उनीसँग भारतको रासनकार्ड भेटिएकाले भारतीय नागरिकका रूपमा उनलाई मुद्दा नचलाइएको अध्यागमन विभागका एक अधिकारीले बताए । उनी केही दिनअघि मात्र भारतबाट नेपालमा आएका थिए । एक उच्च प्रहरी अधिकारीका अनुसार उनीसहित ५–६ जना तिब्बती शरणार्थी अवैध रूपमा चीन प्रवेश गर्ने योजनाका साथ नेपाल आएको सूचना प्राप्त भएका थियो । तिनीमध्ये एक लोप्साङ हुन् ।
अध्यागमनको सोधपुछका क्रममा उनले तिब्बतमा रहेका आफ्ना आमा–बुबा भेट्का लागि भनेर आफू त्यसतर्फ जान लागेका बताएका थिए । नेपालमा पक्राउ पर्ने विदेशी नागरिकको हकमा जुन देशका नागरिक हुन् उनीहरूलाई सम्बन्धित देश निष्कासन गर्ने अध्यागमन कानुन भए पनि तिब्बती शरणार्थीलाई भने भारतमा पठाउने गरिएको छ । भारतको धर्मशालामा ठूलो संख्यामा तिब्बती शरणार्थीहरू बस्दै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-