मकवानपुर १७ असार । भोक टार्न दैनिक ज्यालादारी गर्ने चेपाङ समुदाय कोरोनाका कारण जारी निषेधाज्ञाले यति बेला जंगल पस्न थालेका छन् । मकवापुरको विकट गाउँपालिका राक्सिराङमा हाल भोकमरी भएकाले दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका चेपाङहरू जंगल पस्न बाध्य भएका हुन् ।
लामो समयदेखि जिल्लामा निषेधाज्ञा जारी छ । बिहानरबेलुका खोलेफाँडो खाएर पेट भर्ने अवस्था नभएपछि उनीहरू गिठ्ठा, भ्याकुर खोज्न जंगल पस्न थालेका हुन् । भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा, आसपासमा ससाना झुपडीमा बस्ने चेपाङ समुदाय थोरै अन्नको साथमा वनजंगलमा पाइने कन्दमूल, वनस्पति, फलफूल खाएर जीविकोपार्जन गर्छन् । उनीहरूको जीविकोपार्जनको प्रमुख स्रोत भनेकै गिठ्ठा, भ्याकुर, चित्राफुंगा, चिउरी हो । चेपाङ बस्ती पाखो खोरिया र उब्जनी नहुने ठाउँमा हुनुका साथै उक्त स्थानमा खानेपानीको समस्या पनि चर्को छ ।
भिरालो जग्गा भएको राक्सिराङमा खेतीयोग्य जमिन नहुँदा हरेक वर्ष उनीहरू भोकमरीको मारमा पर्दै आएका छन् । यो वर्ष पनि कोरोना र खडेरीले उनीहरू मारमा परेका छन् । राक्सिराङका अधिकांश चेपाङ समुदाय दैनिक ज्याला मजदुरी, काठमाडौंका होटल र गाउँमा ज्यालादारी गरेर आफ्नो जीविका निर्वाह गर्दै आएका छन् ।
अति विपन्न वर्गमा पर्ने चेपाङ समुदायमा अशिक्षाका कारण परिवार संख्या भने ठूलो हुने गरेको छ । जसले गर्दा उनीहरू पेट पाल्नका लागि जंगल र खोलामा पाइने माछा तथा कन्दमूलको भरपर्ने गर्छन् ।
राक्सिराङ–९, खैराङका राजकुमार चेपाङ बिहानबेलुका हातमुख जोर्न दैनिक जंगल धाउनुपर्ने अवस्था रहेको बताउँदै भन्नुहुन्छ– ‘राक्सिराङका प्राय: सबैको दैनिकी जंगलमा पाइने कन्दमूल खोज्नमा बित्ने गरेको छ । बन्दले मजदुरी गर्न नपाएपछि बाँच्नका लागि जंगलको भर पर्नुपरेको छ ।’
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-