असोज । पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे ।
सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताए । “पूर्वाधार निर्माणका लागि मूल्य भन्दा पनि साझेदारी महत्वपूर्ण हो, प्रमुख आचार्यले भने, यो हाम्रो सहर बनाउनका लागि हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौँ भन्ने सन्देश पनि हो ।” उनले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।
पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको प्रमुख आचार्यले बताए । “यसले एक स्थानको एक अति आवश्यकताको पुरा गर्नेछ, यो एक आफैमा सम्पूर्ण होइन तर, व्यवस्थित सहरमा एक असल नमुना भने अवश्य हो, प्रमुख आचार्यले भने, शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिनेछ ।” यसबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने उहाँले बताए । उनका अनुसार शौचालय अगाडी वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ ।
गैह्र आवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष समेत रहनु भएकी मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखराको मुटु महेन्द्रपुलमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने उनको विश्वास छ । भविष्यमा पनि पोखराका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवद्र्धनको अभियानमा थप सहकार्यका लागि आफूहरू तयार रहेको उनले बताए ।
हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-