पोखरा । भदौ २४ गते पोखरामा प्रहरीबाट लुटिएका हातहतियार मध्ये २१ वटा बन्दुक अझै भेटिएको छैन् ।
जेन जी आन्दोलनको क्रममा पर्यटकीय राजधानी पोखरा महानगरपालिकाभित्र रहेका प्रहरी चौकीमा आक्रमण पश्चात लुटिएको ४२ वटा विभिन्न बन्दुक मध्ये २१ वटा बन्दुक फेला परेको छैन् । ति कस्ले लगे भन्ने समेत यकिन छैन् । २३ गते देशभर जेन जी आन्दोलनको क्रममा राज्यको बर्बर दमन पछि २४ गते त्यसले विध्वंसकारी रुप लिएको थियो ।
वडा प्रहरी कार्यालय बगरबाट लुटिएका मध्ये ३०३ राइफल ८ नाल, हर्नेट राइफल ३ नाल, सर्टगन १ नाल, ग्यासगन १ र पेस्तोल ६ थान भेटिएको छैन् । यस्तै सिआरभी लामाचौर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट लुटिएका मध्ये १/१ थान पेस्तोल भेटिएको छैन् । प्रहरीसंग कति गोली थिए र कति लुटिए भन्ने अझै यकिन भएको छैन् ।
कास्की जिल्लाको प्रहरीको मुख्य कार्यालय जिल्ला प्रहरी कार्यालयमा नै आन्दोलनकारीले आक्रमण गरि नियन्त्रणमा लिएका थिए । त्यो बाहेक वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सिआरभी र प्रहरी विटमा समेत आन्दोलनकारीले आक्रमण गरि हातहतियार लुटपाट गर्दै आगजानी गरेका थिए । पोखरामा सबैभन्दा बढी क्षति वडा प्रहरी कार्यालय बगरमा भएको थियो । त्यहाँबाट ठुलो मात्रामा हतियार लुटिएको थियो । बगरमा ५२ जना प्रहरी कार्यरत रहेका थिए । हतियार लुटेसंगै त्यहाँ रहेका प्रहरीको र नियन्त्रणमा लिइएका सवारी साधनहरु पूर्ण रुपमा जलाइएका थिए भने केहि चोरी समेत भएका थिए ।
पोखरा महानगरपालिकाबाट आगजानी सुरु गरेको आन्दोलनकारीले सबैजसो सरकारी निकायसंगै सुरक्षा निकायमा समेत आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले हतियार हराएको पुष्टि गरेपनि कतिमात्रामा फेला परेनन् भन्ने खुलाएनन् । ‘अझै फेला पर्न बाँकी छ, हाम्रा हतियार हराएका छन् । कसैले फेला पारेको भए वा देखेको भए प्रहरीलाई खबर गरिदिनुहोला’ उनले भने । पोखरामा २७ वटा प्रहरी संरचनामा प्रहार भएको थियो ।
कास्कीमा जिल्ला प्रहरी मातहतका अस्थायी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, ट्राफिक पोस्ट, गरेर ५६ वटा प्रहरी यूनिट छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-