काठमाडौं, १ असोज
देशका विभिन्न स्थानमा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
भोजपुरको हतुवागढी गाउँपालिका-९ ज्यामिरे भञ्ज्याङबाट १२ किलोग्राम गाँजा सहित ३ जनालाई बुधबार बिहान पक्राउ गरिएको हो। पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका-१ घर भई हाल झापा शिवसताक्षी नगरपालिका-७ बस्ने २९ वर्षीय रूद्र बहादुर कामी, मोरङ उर्लावारी नगरपालिका-५ बस्ने ३८ वर्षीय संतोष विश्वकर्मा र झापा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय राजेश चौहान रहेका छन्। प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले को.३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, बारा बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट करिब १ किलोग्राम गाँजासहित ४६ वर्षीय बिनोद पंडित कुमहार उर्फ मुसा पंडित कुमहारलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले उनलाई नेपालबाट भारततर्फ साइकलमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको हो।
यस्तै, कैलालीको टीकापुर नगरपालिका-१ शक्तिनगरबाट खैरो हेरोइन जस्तो देखिने करिब १ ग्राम २ सय मिलिग्राम पदार्थसहित ३० वर्षीय अर्पण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-