काठमाडौंमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको नगद तथा सुनका गहना चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार पुस २२ गते अन्दाजी ११:०० बजेको समयमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट बसमा चढी मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको नगद रू. २ लाख ७५ हजार चोरी भएको थियो। त्यसैगरी मिति २३ गते सिनामंगलबाट बसमा यात्रा गर्ने क्रममा एक महिलाको सुनको सिक्री हराएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।
खोजतलासको क्रममा २३ गते दिउँसो करिब १:३० बजे काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट उक्त चोरी घटनामा संलग्न रहेको खुलेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका–२ बस्ने ३७ वर्षीय सरोज खड्का, काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ४२ वर्षीय विकाश लामा, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–५ घर भई हाल काठमाडौंको टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ र ललितपुर जिल्ला ललितपुर महानगरपालिका–७ बस्ने ३३ वर्षीय सुवास मगर रहेका छन्।
प्रहरीका अनुसार प्रतिवादी सरोज खड्काविरुद्ध यसअघि अभद्र व्यवहार, चोरी, डाँका तथा लागुऔषधसम्बन्धी कसुरमा ११ वटा मुद्दा दर्ता भइसकेका छन्। त्यसैगरी विकाश लामाविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा, राजु गुरुङविरुद्ध ४ वटा र सुवास मगरविरुद्ध २ वटा मुद्दा दर्ता भएको अभिलेख रहेको प्रहरीले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-